रसुवा बाढीका कारण देशभरका मुख्य राजमार्ग प्रभावित, यी सडकखण्डमा आवतजावत पूर्ण बन्द

११ भाद्र २०८३, बिहीबार ०७:४२

काठमाडौं । रसुवामा तिब्बतबाट आएको भीषण बाढीका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो तथा सडकमा लेदो जम्दा विभिन्न राजमार्ग र सडकखण्डमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोकिएको छ।

नागढुंगादेखि मुग्लिन सडकमा बाढीबाट हुने सम्भावित जोखिमका कारण पूर्णरूपमा रोक लगाइएको छ भने वर्षाका कारण इलामको मेची राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडकमा हिलो जमेर सवारीसाधन सञ्चालन हुन नसकेको जनाइएको छ। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको छ।

यता काभ्रेपलाञ्चोक, सिन्धुली हुँदै चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सम्पूर्ण सवारीसाधनको आवतजावत रोकिएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा अर्को सूचना जारी नभएसम्म राति ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात बन्द रहने र बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।

त्यस्तै मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाले निम्त्याउन सक्ने बाढी पहिरोको कारण रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत बन्द रहने जनाइएको छ।

त्यसैगरी रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी जाने सडक अवरुद्ध भएको हो।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि रातिको समयमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यहाँ राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहने व्यवस्था गरिएको भने सबै मुख्य राजमार्ग अर्काे सूचना नआएसम्मका लागि पूर्ण बन्द गरिएको छ।

रुकुम पश्चिमको भेरी करिडोर पनि पहिरोका कारण बन्द भएको छ। आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला क्षेत्रमा सडक माथिबाट ढुंगा, माटो र लेदोसहितको पहिरो आएपछि जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

रोल्पाको शहीद राजमार्गअन्तर्गत परिवर्तन गाउँपालिका–४ कुङ्ग्रीमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। लगातारको वर्षापछि सडक माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि यातायात प्रभावित भएको हो।

यसैबीच रसुवामा आएको अप्रत्याशित बाढीका कारण गल्छी–स्याफ्रुबेँसी, मुग्लिन–नारायणगढ राजमार्ग तथा त्रिशूली नदी आसपासका सडकमा समेत आवतजावत रोकिएको जनाइएको छ। बाढीबाट हुन सक्ने सम्भावित क्षतिलाई ध्यानमा राख्दै अर्को सूचना नआएसम्म ती सडकमा आवतजावत नगर्न आग्रह गरिएको छ।

बाढीका कारण धादिङतर्फ पृथ्वी राजमार्गका विभिन्न स्थानमा समेत दुईतर्फी यातायात प्रभावित भएको छ। बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला र गजुरी गाउँपालिका–२ बिहानी पम्प क्षेत्रमा लेदो हटाउने काम भइरहेको छ। गजुरी–५ गलौदीमा मेसिन लैजान नसकिएको जनाइएको छ। गजुरी–६ जहरेखेत र बाङ्गेमोड तथा गल्छी गाउँपालिका–६ बैरेनी क्षेत्रमा पनि सडक प्रभावित भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*