रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६२ पुग्यो

११ भाद्र २०८३, बिहीबार ०७:५४

काठमाडौं । रसुवा जिल्लामा आएको भीषण बाढीमा परी ज्यान गुमाउनेको संख्या १६२ जना पुगेको छ। प्रहरीले भदौ ११ गते बिहान ५ बजेसम्मको विवरण अनुसार १६२ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीका अनुसार रसुवामा २ जना, नुवाकोटमा १२ जना, धादिङमा २७ जना, चितवनमा ६४ जना, गोरखामा २० जना, तनहुँमा ९ जना, पूर्वी नवलपरासीमा २६ जना र पश्चिम नवलपरासीमा २ जनाको शव फेला परेको हो।

बाढीमा परेर सैयौं नागरिक बेपत्ता भएका छन्। उनीहरूको खोजी तथा उद्धार कार्यका लागि ३ हजार ३१८ जना नेपाल प्रहरी परिचालन गरिएको छ भने सशस्त्र प्रहरी र नेपाली सेना पनि उद्धार कार्यमा खटिएको छ।

हालसम्म ४१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। २० जना टिचिङ अस्पतालमा, ४ जना ट्रमा सेन्टरमा, ३ जना वीर अस्पतालमा, १ जना विरेन्द्र सैनिक अस्पतालमा, १ जना ग्रिन सिटीमा ३ जना नर्भिक अस्पतालमा र ९ जना त्रिशुली अस्पतालमा उपचाररत छन्।

त्यस्तै रसुवामा कार्यरत २८ जना प्रहरी हालसम्म पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन् भने प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जनामात्र सम्पर्कमा रहेका छन्।

त्यस्तै प्रहरी चौकी स्यापु्रँबेसीमा कार्यरत ५ जनामध्ये ५ जना सम्पर्कमा आएका छन् भने अस्थायी प्रहरी पोस्ट मैलुङमा कार्यरत ८ जनामध्ये ३ जना प्रहरी सम्पर्कमा रहेका छन्। यता प्रहरी चौकी बेत्रावतीमा रहेका १० जना प्रहरीमध्ये ९ जना सम्पर्कमा छन् भने प्रहरी चौकी हाकुमा रहेका ६ जनामध्ये ५ जना सम्पर्कमा रहेका छन्।

बाढीका कारण विदेशी पर्यटकसहित सैयौं नागरिक बेपत्ता तथा सम्पर्कविहीन भएका छन्। अकल्पनीय क्षति पुगेका कारण हालसम्म क्षतिको यकीन गर्न सकिएको छैन। बाढीले व्यापक मात्रामा मानवीय र भौतिक क्षति पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*