बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, ६ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

११ भाद्र २०८३, बिहीबार ०९:४१

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको छ। उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ठूलो संख्यामा जनशक्ति तथा स्रोतसाधन परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका २ हजारभन्दा बढी, सशस्त्र प्रहरीका १ हजार ५ सयभन्दा बढी र नेपाल प्रहरीका ३ हजारभन्दा बढी जनशक्ति खटिएका छन्। तीनवटै सुरक्षा निकायका गरी ६ हजार ५ सयभन्दा बढी सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा सक्रिय छन्।

उद्धारका लागि प्रभावित क्षेत्रमा १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ भने थप २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्। आवश्यकताअनुसार ती हेलिकोप्टरलाई तत्काल प्रभावित क्षेत्रमा पठाउन सकिने व्यवस्था गरिएको छ।

त्यस्तै प्रभावित नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन १ सयभन्दा बढी स्वास्थ्यकर्मी तथा चिकित्सकीय जनशक्ति परिचालन गरिएको छ।

उद्धार कार्यमा सुरक्षा निकायसँगै स्थानीय बासिन्दा, चिकित्सक तथा स्वयंसेवकहरूले समेत सहयोग गरिरहेका छन्। प्रभावित क्षेत्रमा फसेका नागरिकको उद्धार, बेपत्ताको खोजी तथा राहत वितरणलाई प्राथमिकतामा राखेर काम भइरहेको सरकारले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*