बाढीको पीडामा नाडाको मलमः दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

११ भाद्र २०८३, बिहीबार १२:३१

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढी प्रभावित क्षेत्रको तत्काल राहत तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै राहत कोषमा उक्त रकम सहयोग गर्ने जानकारी दिएका हुन्।

नाडाले विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबै मिलेर उद्धार, राहत र पुनर्निर्माणका कार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकबद्ध भई उद्धार तथा राहतका कार्यमा सहयोग गर्नसमेत आह्वान गरेको छ।

बाढीमा परी ज्यान गुमाउनेप्रति नाडाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नाडाले विपद्पछि उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रको तत्परताप्रति आभार व्यक्त गरेको छ। प्रभावित जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपत्कालीन सूचना जारी गर्ने तथा उद्धार र राहत उडानको समन्वय गर्ने सरकारको प्रयासको समेत नाडाले प्रशंसा गरेको छ।

यसैबीच, विपद्का कारण आर्थिक गतिविधि प्रभावित हुन नदिन काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ भने निरन्तर सञ्चालनमा रहने नाडाले जनाएको छ।

नाडाले आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेको भन्दै सरकार, निजी क्षेत्र र नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरेको छ।

अध्यक्ष उप्रेतीले विपद्को सामना गर्न सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्दै आर्थिक गतिविधिलाई समेत निरन्तर चलायमान बनाउन अपिल गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*