भोटेकोशी बाढी प्रभावितका लागि गोल्छा ग्रुपले डेढ करोड सहयोग गर्ने

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
रसुवा तथा अन्य प्रभावित क्षेत्रबाट सार्वजनिक भइरहेका तस्बिर तथा भिडियोले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको गोल्छा ग्रुपले जनाएको छ । बाढी तथा विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै ग्रुपले अझै आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको जनाएको हो ।
गोल्छा ग्रुपका शेखर गोल्छाले सामाजिक सञ्जालमार्फत विपत्तिको यस कठिन घडीमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु सबैको साझा र पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् ।
विपत्तिको समयमा निजी क्षेत्र पनि एकजुट भएर सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्नेमा जोड दिँदै ग्रुपले मानवीय सहायता कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख रुपैयाँ प्रदान गर्न लागेको जनाएको छ ।
गोल्छा ग्रुपले बाढीबाट प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो साथ, ऐक्यबद्धता र सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।









