बाढीपीडितको आँसुमाथि ठगीको खेल, ‘प्रधानमन्त्री राहत कोष’को नाममा स्क्याम

११ भाद्र २०८३, बिहीबार १३:२६

काठमाडौं । मुलुकका प्राकृतिक विपद्ले जनधनको क्षति पुर्‍याइरहेका बेला विपद्को पीडामाथि खेल्दै ठगी गर्ने गिरोहसमेत सक्रिय हुन थालेका छन् । सामाजिक सञ्जालमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ तथा ‘प्रधानमन्त्री राहत कोष’को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई–वालेटमा रकम जम्मा गर्न लगाउने तथा फर्जी राहतका लागि रकम माग्ने गतिविधि भइरहेको पाइएको हो ।

विपद्को अवस्थामा सहयोग गर्न चाहने सर्वसाधारणलाई लक्षित गरी ठगीका प्रयास हुन थालेपछि सम्बन्धित निकायले सचेत रहन आग्रह गरेको छ । नेपाल प्रहरीका अनुसार राहत तथा सहयोगका नाममा सामाजिक सञ्जालमा फैलाइएका अप्रमाणित सूचना र व्यक्तिगत खातामा रकम पठाउने आग्रहप्रति विशेष सावधानी अपनाउनुपर्ने भएको छ ।

सहयोग गर्न चाहनेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट opmcm.gov.np वा प्रमाणित सामाजिक सञ्जाल पेज facebook.com/OPMCMNP मार्फत प्राप्त आधिकारिक विवरणलाई मात्र आधार बनाउन आग्रह गरिएको छ ।

विपद्को नाममा कसैले ठगी गरेको वा ठगीको प्रयास गरिरहेको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । यसका लागि ९८५१२८६७७१, ९८५१२८६७७० र ९८५१२८६७७२ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*