बाढीपीडितको उद्धार र पुनःस्थापनाका लागि शिखर नगरपालिकाद्वारा २ लाख सहयोग

काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा सहयोग पुर्याउन शिखर नगरपालिकाले नेपाल सरकारको राहत कोषमा २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको अकस्मात् बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शिखर नगरपालिकाले विपद्को यस कठिन घडीमा स्थानीय सरकारका तर्फबाट मानवीय सहयोग र ऐक्यबद्धता जनाउन उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
नगर प्रमुख दीर्घबहादुर बलायरका अनुसार नगरपालिकाले सहयोग रकम नेपाल सरकारको राहत कोषमा जम्मा हुने गरी आवश्यक प्रक्रिया तथा व्यवस्था मिलाइसकेको छ।
बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति नगरपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनयापनको कामना गरेको छ।
प्राकृतिक विपद्का कारण उत्पन्न विषम परिस्थितिमा पीडित तथा प्रभावित नागरिकको उद्धार, राहत, उपचार र पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायले गरिरहेका प्रयासप्रति पनि नगरपालिकाले ऐक्यबद्धता जनाएको छ।
नगरपालिकाले आफ्नो सानो सहयोगले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। दुःखको यस घडीमा पीडित परिवार तथा समुदायसँग स्थानीय सरकारका रूपमा शिखर नगरपालिका साथमा रहेको प्रतिबद्धतासमेत जनाएको छ।










