बाढीले बगाएर ल्याएको शवको कानबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा लुछ्ने दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा आज दिउँसो दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१, लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन् ।
उनीहरूले बाढीले रसुवाबाट बगाएर ल्याएको शवको कानमा रहेको सुनको मुन्द्रा तानेर लिएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।









