वर्षा र बाढीले कान्तिलोकपथदेखि अरनिको राजमार्गसम्म यातायात प्रभावित

१४ भाद्र २०८३, आईतवार ०७:५५

काठमाडौं । लगातारको वर्षा तथा बाढीका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बाढी, पहिरो र सडक भासिनेलगायतका कारण केही प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। कतिपय सडकमा भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन्।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइने व्यवस्था छ।

मकवानपुरको कान्तिलोकपथमा पनि वर्षाका कारण रातिको समयमा सबै प्रकारका सवारीसाधनको आवतजावत रोकिएको छ। त्यस्तै नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न रोक लगाइएको छ।

यसैगरी इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडकमा हिलो जमेर पूर्ण रूपमा अवरुद्ध छ। उक्त स्थानमा वैकल्पिक सडक भने रहेको छ। उता रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

यसअघि बाढीको जोखिमका कारण रोकिएको रसुवातर्फको गल्छी–स्याफ्रुबेँसी तथा मुग्लिन–नारायणघाटलगायत त्रिशूली नदी आसपासका सडकमा भदौ १३ गते बिहान ६ बजेदेखि एकतर्फी रूपमा यातायात सञ्चालनमा आएको छ।

तर वर्षाका कारण नयाँ स्थानमा समेत सडक अवरुद्ध हुने क्रम जारी छ। ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित पाङदुर र भालुखोलामा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैँसेरीमा सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरो क्षेत्रमा सडक भासिएपछि सडक पूर्ण रूपमा बन्द भएको छ। वर्षाका कारण जुनसुकै बेला सडकमा बाढी तथा पहिरो आउन सक्ने भएकाले यात्रु तथा चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*