त्रिशूली र सुनकोशीमा जलसतह बढ्यो, नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विभिन्न क्षेत्रमा भइरहेको भारी वर्षाका कारण त्रिशूली र सुनकोशी नदीमा जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार भदौ १४ गते बिहान ७ बजे त्रिशूली नदीको गल्छी, धादिङ जलमापन केन्द्रमा जलसतह ३ मिटर बढेको छ। साथै गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी र यसका सहायक नदीमा समेत जलसतह बढ्न सक्ने पूर्वानुमान गरिएको छ।
यसैगरी बिहान ७ः०२ बजे सुनकोशी नदीको खुर्कोट, सिन्धुली जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ। जलसतह थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्रिशूली, नारायणी, सुनकोशीलगायत नदी तथा आसपासका तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।









