श्रीलंकाले नेपाललाई १० लाख अमेरिकी डलर सहयोग गर्ने

१४ भाद्र २०८३, आईतवार ११:०४

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकको राहत तथा मानवीय सहयोगका लागि श्रीलंका सरकारले १० लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा मानवीय सहायता पुर्‍याउन उक्त रकम सहयोग गर्ने निर्णय गरेका हुन्। श्रीलंकाको विदेश मन्त्रालयका अनुसार राष्ट्रपति दिसानायकेले विपद्का कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति समवेदना समेत व्यक्त गरेका छन्।

श्रीलंकाले नेपाल र श्रीलंकाबीच लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई स्मरण गर्दै विपद्को यस कठिन समयमा नेपाली जनतासँग आफ्नो देशको ऐक्यबद्धता रहेको जनाएको छ।

यसैबीच श्रीलंकाका विदेशमन्त्री विजिता हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोनमार्फत कुराकानी गर्दै बाढीपहिरोबाट भएको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्। उनले श्रीलंका सरकार र जनताको तर्फबाट नेपाललाई निरन्तर सहयोग र ऐक्यबद्धता रहने प्रतिबद्धता व्यक्त गरेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ।

श्रीलंका सरकारले नेपाल सरकारसँग समन्वय गर्दै राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगका थप सम्भावित क्षेत्रबारे समेत निरन्तर छलफल गर्ने समेत जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*