माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा भारी उपकरण परिचालन गर्ने तयारी

१४ भाद्र २०८३, आईतवार ११:२५

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरूको उद्धार कार्य रातिदेखि निरन्तर रहेपनि आज बिहान करिब ४ बजे आयोजनास्थलमा पुनः बाढी आएपछि उद्धारमा चुनौती थपिएको छ।

पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको जनाइएको छ। नदीको जलसतह अत्यधिक बढेपछि आयोजनाको आसपासको किनार तीव्र रूपमा कटान हुन थालेको छ।

बाढीको अवस्था गम्भीर बनेपछि सरकारले आयोजना क्षेत्रमा पूर्ण सतर्कता अपनाउँदै समग्र अवस्थाको निरीक्षण गरिरहेको छ। बाढी तथा पहिरोका कारण थुप्रिएको माटो र लेदो हटाउन डोजर तथा अन्य भारी उपकरण परिचालन गर्ने तयारी भइरहेको जनाएको छ।

यसैगरी पहिरो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ को टनेल पोर्टल तथा पावर हाउस क्षेत्रमा रहेका महत्वपूर्ण उपकरण सुरक्षित रूपमा निकाल्ने तयारीसमेत गरिएको छ। आयोजना क्षेत्रको निगरानी तथा सञ्चालनसँग सम्बन्धित १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर तथा सेटअप बक्सहरू निकाल्न हेलिकप्टरमार्फत विशेष टोली परिचालन गर्ने तयारी गरिएको जनाएको हो।

सडक पहुँच अवरुद्ध भएकाले उपकरण रहेको स्थानसम्म स्थलमार्गबाट पुग्न कठिन भएपछि हेलिकप्टरबाट टोलीलाई भवन नजिकै उतारेर आवश्यक उपकरण सुरक्षित रूपमा निकाल्ने योजना बनाइएको छ। बाढीको जोखिम कायमै रहेकाले आयोजना क्षेत्रको अवस्था निरन्तर निगरानी गर्दै उद्धार तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको सरकारले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*