त्रिशूली थ्री–‘ए’को सुरुङ भेटियो, उद्धार टोली भित्र पठाउने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका कर्मचारीको उद्धारका लागि खटिएको टोलीले महत्वपूर्ण प्रगति हासिल गरेको छ। तीन दिनदेखि निरन्तर खोज तथा उद्धारमा जुटेको टोलीले अन्ततः ‘केबल एक्सेस टनेल’ पत्ता लगाएको हो।
नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली तथा सुरुङ विज्ञहरूको संयुक्त प्रयासमा विद्युत् गृहबाट तार बाहिर निकाल्न प्रयोग हुने सुरुङ फेला पारिएको हो। उक्त सुरुङमार्फत उद्धार टोलीलाई भित्र पठाएर सुरुङमा फसेका कर्मचारीको अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ।
उद्धारका लागि भेटिएको सुरुङ मानिस प्रवेश गर्न सक्ने प्रकृतिको रहेको बताइएको छ। यसअघि फसेका कर्मचारीसम्म हावा र अक्सिजन पुर्याउने उद्देश्यले विभिन्न स्थानमा ड्रिल गरेर पाँचवटा प्वाल बनाइएको थियो। ती प्वालमार्फत सुरुङभित्र हावा पठाउने तथा भित्रको अवस्था बुझ्ने प्रयास हुँदै आएको थियो।
सुरुङ भेटिएपछि अब उद्धार विज्ञ तथा प्राविधिक टोलीलाई त्यसबाट भित्र पठाउने तयारी अघि बढाइएको छ। सुरुङभित्र रहेका कर्मचारीको अवस्था यकिन गरी सुरक्षित रूपमा बाहिर निकाल्ने कार्यलाई प्राथमिकतामा राखिएको छ।
प्राधिकरणका अनुसार त्रिशूली थ्री–‘ए’ आयोजनाको भूमिगत विद्युत् गृहमा ओभरहलिङको काम भइरहेका बेला ठूलो संख्यामा प्राविधिक जनशक्ति सुरुङभित्र रहेका थिए। करिब ४० देखि ४२ जना उच्च तहका विज्ञ तथा प्राविधिक कर्मचारी सुरुङभित्र फसेको अनुमान गरिएको छ।









