विपद्को छायामा पनि चम्किएको नाडा अटो शो सम्पन्न, गाडी बुकिङमा देखियो उत्साह

१४ भाद्र २०८३, आईतवार १९:०५

काठमाडौँ । काठमाडौंमा ६ दिनसम्म चलेको १८औँ संस्करणको नाडा अटो शो, २०२६ आज सम्पन्न भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ९ भदौदेखि सुरु भएको अटो शोमा पाँच दर्जनभन्दा बढी सवारी ब्रान्डसहित स्वदेशी उत्पादन ‘यात्री’, टायर, लुब्रिकेन्ट, एसेसरिज, पार्ट्सलगायत अटोमोबाइल क्षेत्रसँग सम्बन्धित २०० भन्दा बढी ब्रान्ड तथा कम्पनीले सहभागिता जनाएका थिए ।

नयाँ तथा विद्युतीय सवारीसाधनको बढ्दो आकर्षण, विभिन्न ब्रान्डका नयाँ मोडलको प्रदर्शनी, प्रविधिमा भइरहेको परिवर्तन र अटोमोबाइल बजारका सम्भावनाबारे जानकारी लिन चाहने उपभोक्ताका कारण यसपटकको अटो शो विशेष चासोको विषय बनेको थियो । प्रदर्शनीमा कार, मोटरसाइकल तथा अन्य सवारीसाधनसँगै अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन र सेवाका स्टलसमेत राखिएका थिए ।

तर, अटो शो सुरु भएको दोस्रो दिन अर्थात् १० भदौमा भोटेकोसी क्षेत्रमा आएको भीषण बाढीले सिर्जना गरेको प्राकृतिक विपत्तिले मेलाको उत्साहमा केही असर पुर्‍यायो । देशका विभिन्न क्षेत्रमा विपद्को अवस्था सिर्जना भएपछि स्वाभाविक रूपमा उपभोक्ताको प्राथमिकता र आवतजावत प्रभावित भएको आयोजक तथा सहभागी कम्पनीहरूले बताएका छन् ।

विपद्को असरका कारण आयोजकले अपेक्षा गरेअनुसारको अवलोकनकर्ता संख्या पुग्न नसके पनि मेलामा आएका दर्शकको सहभागिता भने अर्थपूर्ण देखिएको सहभागी कम्पनीहरूको भनाइ छ । विगतका अटो शोमा सवारीसाधन हेर्न र नयाँ मोडलको जानकारी लिन आउनेको संख्या उल्लेख्य रहने गरेकामा यसपटक सवारीसाधन खरिद गर्ने उद्देश्य बोकेर आउने ग्राहकको उपस्थिति बढी देखिएको स्टलमा रहेका कम्पनी प्रतिनिधिहरूले बताएका छन् ।

अटो शोमा विभिन्न ब्रान्डका सवारीसाधनप्रति उपभोक्ताको चासो, मूल्य, सुविधा, प्रविधि, फाइनान्सिङ तथा खरिद प्रक्रियाबारे जानकारी लिने क्रम उल्लेख्य थियो । विशेषगरी विद्युतीय सवारीसाधनप्रतिको बढ्दो चासोले नेपाली अटोमोबाइल बजारको बदलिँदो स्वरूपलाई समेत मेलामा प्रत्यक्ष देखाएको सहभागीहरूको भनाइ छ । विभिन्न कम्पनीहरूले मेलाको अवधिमा उल्लेख्य संख्यामा सवारीसाधन बुकिङ भएको जनाएका छन् ।

आयोजकले यसपटकको मेलामा करिब २ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो । तर, प्राकृतिक विपत्तिका कारण देशको समग्र जनजीवन प्रभावित हुँदा अपेक्षित संख्यामा अवलोकनकर्ता आउन नसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । यद्यपि, विपद्को प्रतिकूल परिस्थितिका बीच पनि अटो शोले राम्रो चर्चा र उल्लेख्य सहभागिता पाउनुलाई आयोजकले सकारात्मक रूपमा लिएको छ ।

नाडा अटो शो, २०२६ का सभापति अनुप बरालले विपत्तिका कारण मेलामा केही असर परे पनि उपस्थितिको अवस्था सन्तोषजनक रहेको बताए । उनका अनुसार देशमा प्राकृतिक विपत्ति आइपरेका कारण अटो शोको समग्र वातावरणमा प्रभाव पर्नु स्वाभाविक भए पनि प्रतिकूल अवस्थाका बीच पनि दर्शक तथा ग्राहकको उपस्थिति उत्साहजनक रह्यो । “विपत्तीले धेरै हदसम्म असर गरे पनि हाम्रो अटो शोमा उपस्थितिको संख्या ठिक्कै रह्यो,” सभापति बरालले भने ।

अटो शोको अन्तिम दिन नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले मेलामा सहभागी कम्पनी तथा स्टलहरूलाई सम्मान गरेका थिए । उनले सहभागी स्टलहरूलाई ‘टोकन अफ लभ’ प्रदान गर्दै अटो शोको सफलतामा उनीहरूको योगदानको सम्मान गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*