रसुवागढी सडक सञ्चालनमा ल्याउन १३ प्रकारका कामको दररेट आह्वान

काठमाडौं । रसुवामा बाढीपहिरोका कारण सडक तथा पुलमा ठूलो क्षति पुगेको चार दिनमै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाले क्षतिग्रस्त संरचना पुनःस्थापना गरी सडक सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाएको छ ।
सडक विभागअन्तर्गतको आयोजनाले भदौ १४ गते सूचना जारी गर्दै विपद्पछिको तत्कालीन पुनःस्थापनाका लागि आवश्यक १३ प्रकारका कामको दररेट मागेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४५ बमोजिम खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट दररेट माग गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाले सडक पुनःस्थापनाअन्तर्गत ग्याबियन तथा म्याट्रेस संरचना निर्माण, सब–बेस बिछ्याउने, नरम र कडा चट्टानमा सडक खन्ने तथा विभिन्न क्षमताका ह्युम पाइप राख्ने कामलाई प्राथमिकतामा राखेको छ ।
त्यसैगरी एम२० ग्रेडको मेसिन मिक्स कंक्रिट प्रयोग गर्ने, ढुंगा सोलिङ गर्ने र एचवाईएसडी बार प्रयोग गर्नेलगायतका संरचनागत कामसमेत दररेट आह्वानमा समेटिएका छन् ।
बाढीपहिरोबाट क्षतिग्रस्त तादी नदीको स्टिल ट्रस पुल भत्काएर त्यसका सामग्री सुरक्षित स्थानमा लैजाने काम पनि तत्कालीन पुनःस्थापनाको योजनामा राखिएको छ । सडकमा थुप्रिएको पहिरो तथा भग्नावशेष हटाउनेसँगै हेटौँडाबाट तादीसम्म दुई लेनको बेली ब्रिजका पार्टपुर्जा ढुवानी गरी जडान गर्ने कामसमेत अघि बढाइने भएको छ ।
आयोजनाका अनुसार पुनःस्थापनाका लागि आवश्यक कामको वास्तविक परिमाण बोलपत्रदाता र आयोजनाका प्राविधिकबीचको संयुक्त सर्वेक्षणबाट निर्धारण गरिनेछ । उद्धृत दरका आधारमा आयोजनाले एक वा एकभन्दा बढी बोलपत्रदातालाई कामको जिम्मेवारी दिन सक्ने जनाएको छ ।
दररेट पेस गर्ने अन्तिम मिति २०८३ भदौ १७ गते दिउँसो ४ बजेसम्म तोकिएको छ । प्राप्त दररेट सोही दिन अपराह्न ४ः१५ बजे आयोजनाको विदुरस्थित कार्यालयमा खोलिने सूचनामा उल्लेख छ ।









