हर्मुजमा अमेरिकी आक्रमणपछि उकालो लाग्यो कच्चा तेलको मूल्य

काठमाडौं । हर्मुज जलयोजकमा रहेको इरानी टापु लारकमा अमेरिकाले आक्रमण गरेपछि र त्यसको जवाफमा इरानले अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । अमेरिका र इरानबीचको द्वन्द्व छैटौं महिनामा प्रवेश गरेसँगै तेल बजारमा आपूर्ति अवरोधको चिन्ता बढेको हो ।
ब्रेन्ट क्रुडको मूल्य २.२१ डलर अर्थात् २.५१ प्रतिशतले बढेर प्रति ब्यारल ९०.३१ डलर पुगेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) क्रुडको मूल्य १.८३ डलर अर्थात् २.१९ प्रतिशतले बढेर प्रति ब्यारल ८५.२३ डलर पुगेको छ ।
अमेरिकी सेनाले आइतबार हर्मुज जलयोजकमा रहेको इरानको लारक टापुमा रहेका दुईवटा लन्चरमा आक्रमण गरेको थियो । जुलाईको अन्त्ययता इरानमाथि भएको यो पहिलो ज्ञात अमेरिकी आक्रमण भएको बताइएको छ ।
आक्रमणको जवाफमा इरानले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अड्डालाई लक्षित गरी आक्रमण गरेको इरानी सञ्चारमाध्यमले सोमबार इरानको रिभोलुसनरी गार्ड्सलाई उद्धृत गर्दै रिपोर्ट गरेका छन् ।
अमेरिका र इरानबीच द्वन्द्व अन्त्यका लागि हुनुपर्ने वार्तामा गतिरोध कायम छ । यसबीच मध्यस्थकर्ताहरूले हर्मुज जलयोजक पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् ।









