गभर्नर पौडेलद्वारा बाढीप्रभावित बैंकका सीईओसँग छलफल, साढे ९ अर्ब कर्जा जोखिममा

१५ भाद्र २०८३, सोमबार १७:५५

काठमाडौं। रसुवा जिल्लामा आएको बाढीले बैंक तथा वित्तीय संस्थाको पूर्वाधार, सेवा प्रवाह र कर्जा–निक्षेप कारोबारमा पारेको प्रभावबारे नेपाल राष्ट्र बैंकले प्रभावित बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, डेपुटी गभर्नर किरण पण्डित र दीर्घबहादुर रावलले सोमबार प्रभावित बैंकका नेतृत्वसँग प्रत्यक्ष संवाद गरेका हुन्। छलफलमा बाढीपछि बैंकका शाखाको अवस्था, कर्मचारीको सुरक्षा, सेवा सञ्चालनको वर्तमान स्थिति तथा प्रभावित क्षेत्रमा बैंकिङ गतिविधि पुनः सुचारु गर्ने उपायबारे जानकारी लिइएको थियो।

नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको नेतृत्वमा सहभागी बैंकका प्रतिनिधिहरूले बाढीबाट भएको क्षतिको विवरण राष्ट्र बैंकसमक्ष प्रस्तुत गरेका थिए। छलफलमा प्रभावित १२ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी थिए।

बाढीका कारण केरुङ, टिमुरे, स्याफ्रुबेंसी, वेत्रावती, मैलुङ, देविघाट र त्रिशूली क्षेत्रमा सञ्चालित बैंकका १६ वटा शाखा कार्यालयमा प्रत्यक्ष क्षति पुगेको छ। कतिपय शाखाका संरचना तथा बैंकिङ सामग्री बाढीले बगाएपछि नियमित सेवा सञ्चालनमा समेत समस्या देखिएको छ।

छलफलमा सहभागी बैंकहरूले आफ्ना कर्मचारीको अवस्थादेखि उद्धार तथा राहतका क्रममा भएका गतिविधिबारे समेत राष्ट्र बैंकको टोलीलाई जानकारी गराएका थिए। विपद्का कारण शाखा सञ्चालन प्रभावित हुँदा ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउन देखिएका कठिनाइ र तत्काल अपनाउनुपर्ने विकल्पबारे पनि छलफल भएको थियो।

प्रभावित क्षेत्रमा यी बैंकहरूको करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको कर्जा लगानी रहेको छ भने झन्डै ४ अर्ब रुपैयाँ निक्षेप रहेको छ। बैंकका भल्टमा रहेको करिब १५ करोड रुपैयाँसमेत बाढीको चपेटामा परेको प्रारम्भिक विवरण छ।

उक्त क्षेत्रमा बैंकहरूले सर्वसाधारणतर्फ करिब २ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। सो क्षेत्रका जलविद्युत् आयोजनामा भने बैंकिङ क्षेत्रको लगानी करिब ७ अर्ब रुपैयाँ पुगेको छ। विपद्पछि निक्षेप व्यवस्थापनदेखि कर्जा असुली तथा नयाँ लगानीसम्म पर्न सक्ने प्रभावका विषयमा पनि राष्ट्र बैंक र बैंकरबीच विचार आदानप्रदान भएको छ।

बाढी प्रभावित क्षेत्रमा बैंकिङ सेवा निरन्तर राख्न सम्भावित वैकल्पिक व्यवस्था, ग्राहकलाई सहज सेवा दिने उपाय र क्षतिग्रस्त शाखाको पुनः सञ्चालनका विषयमा नियामकीय तहबाट आवश्यक सहजीकरण गर्ने संकेत राष्ट्र बैंकले दिएको छ।

छलफलमा कृषि विकास बैंकका गोविन्द गुरुङ, सिटिजन्स बैंकका गणेशराज पोखरेल, ग्लोबल आइएमई बैंकका सुरेन्द्र रेग्मी, हिमालयन बैंकका अशोक राणा, लक्ष्मी सनराइज बैंकका अजयविक्रम राणा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला, नबिल बैंकका मनोज ज्ञवाली, एनआईसी एशिया बैंकका सुजित शाक्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ज्योतिप्रकाश पाण्डे, एनएमबी बैंकका गोविन्द घिमिरे, प्रभु बैंकका सुमन शर्मा र सानिमा बैंकका पवन आचार्य सहभागी थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*