सानिमा मिडिल तमोरले तीन महिनामै कमायो ४३ करोड नाफा

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ४२ करोड ९६ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार विद्युत् बिक्रीबाट ७४ करोड ३२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो।
कम्पनीले सञ्चालन गरिरहेको ७३ मेगावाट क्षमताको मिडिल तमोर जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बिक्री गरी समीक्षा अवधिमा ७४ करोड ३२ लाख ७६ हजार आम्दानी भएको छ। निर्माण राजस्व र लागत समायोजनपछि कम्पनीको कुल नाफा ६८ करोड ५० लाख ३८ हजार रुपैयाँ पुगेको छ।
ह्रासकट्टी र प्रशासनिक खर्च कटाउँदा कम्पनीको खुद सञ्चालन नाफा ५५ करोड ४ लाख ६६ हजार रुपैयाँ रहेको छ। त्यसपछि वित्तीय खर्च तथा आयकर समायोजन गर्दा कम्पनीले ४२ करोड ९६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो वर्ष २ करोड ९० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८९ पैसा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ रुपैयाँ ३० पैसा थियो। त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ १ पैसा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो ११६ रुपैयाँ ४४ पैसा रहेको थियो।
कम्पनीको कुल सम्पत्ति १४ अर्ब ३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। कुल दायित्व ९ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ रहेको छ। यसमध्ये दीर्घकालीन ऋण ८ अर्ब ६५ करोड ५५ लाख रुपैयाँ र चालु ऋण ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ। कम्पनीको कुल इक्विटी ४ अर्ब ५४ करोड १५ लाख रुपैयाँ पुगेको छ। यसमा ३ अर्ब ३३ करोड रुपैयाँ शेयर पुँजी र १ अर्ब २० करोड रुपैयाँ सञ्चित नाफा रहेको छ।
यसैबीच कम्पनीले जलविद्युत् आयोजनामा लगानी विस्तारको तयारी पनि अघि बढाएको छ। कम्पनीले सहायक कम्पनी तमोर भ्याली हाइड्रो पावर प्रालिमा ५ करोड ७७ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ। उक्त सहायक कम्पनीले सोलुखुम्बुमा ४५ देखि ४७ मेगावाट क्षमताको सोलु दुधकोशी चौथो जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययन अघि बढाएको छ।











