सांग्रिला डेभलपमेन्ट बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख सहयोग

१५ भाद्र २०८३, सोमबार १८:१४

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापना र भौतिक पुनर्निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । बाढीमा सयौं नागरिकले ज्यान गुमाएका छन् भने कयौं अझै सम्पर्कविहीन छन् । बाढीका कारण धेरै परिवार विस्थापित हुनुपरेको छ भने अरबौं रुपैयाँ बराबरको भौतिक क्षति भएको बताइएको छ ।

बैंकले बाढीबाट ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको ७० लाख रुपैयाँमध्ये संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख रुपैयाँ र बैंकका कर्मचारीको तर्फबाट २० लाख रुपैयाँ योगदान गरिएको जनाएको छ ।

उक्त सहयोग रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि विभिन्न विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*