रसुवा बाढी प्रभावितका लागि शंकर ग्रुपद्वारा ४ करोड आर्थिक सहयोग

१६ भाद्र २०८३, मंगलवार ०६:३८

काठमाडौं । बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ग्रुपका निर्देशक दीपा अग्रवालसहित वरिष्ठ व्यवस्थापन टोलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ४ करोड रुपैयाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो ।

यसअघि पनि ग्रुपले विपद् आएको तेस्रो दिनमै गृह मन्त्रालयसँगको समन्वयमा २५ लाख रुपैयाँ बराबरका २ हजार ५०० थान टार्पोलिन टेन्ट उपलब्ध गराएको थियो । विस्थापित नागरिकलाई अस्थायी रूपमा बस्न ती टेन्ट प्रयोग गरिने शंकर ग्रुपले जनाएको छ ।

ग्रुपले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना जनाएको छ । बेपत्ता नागरिकको सकुशल उद्धारको कामनासमेत गरेको छ ।

उद्धार तथा राहतमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक र सरकारी अधिकारीलाई धन्यवाद दिँदै ग्रुपले राष्ट्रिय संकटका बेला सरकार र नागरिकसँगै उभिनु आफ्नो दायित्व भएको जनाएको छ । आगामी दिनमा पनि विपद् प्रभावितका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता शंकर ग्रुपले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*