रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ जना बेपत्ता

१६ भाद्र २०८३, मंगलवार ११:४९

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ।

चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ शव फेला परेका हुन्। यसमा विभिन्न मानव अंग समेत समावेश छन्।

त्यस्तै बेपत्ता हुनेमा नुवाकोटका १,५५८ जना, रसुवाका ८६५ जना, हाइड्रोपावरका ६३९ जना, विदेशी पर्यटक ५३८ जना, पर्यटकसँगै घुम्न गएका नेपाली १६४ जना बेपत्ता छन्। त्यसैगरी नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्रका १३ जना सुरक्षाकर्मीका साथै भन्सार कार्यालयका १५ जना र अध्यागमन कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइनका ३–३ जना गरी ९ जना नागरिक बेपत्ता छन्।

बाढीका कारण हालसम्म २७९ जना घाइते भएका छन् भने ११ हजार ८१४ जनाको उद्धार भइसकेको छ। बाढी प्रभावितस्थलमा २१ हजार ११ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

बाढीबाट प्रभावित भएकामध्ये २,४६६ जनालाई नुवाकोट, २९६ जनालाई काठमाडौं, १८३ जनालाई रसुवा र २५ जना धादिङको होल्डिङ सेन्टरमा राखिएको छ। राहतको रूपमा ३७ ट्रक र ३७ बोलेरो मार्फत खाद्य र गैरखाद्य सामग्री र हेलिकप्टरमार्फत ९ वटा उडान गरी राहत पठाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*