इरानमा अमेरिकाको भीषण हवाई आक्रमण; चार घण्टा लगातार हमलाको अविस्मरणीय पाठ सिकाउने खामेनीको चेतावनी

१७ भाद्र २०८३, बुधबार ०६:३५

तेहरान/वासिङ्टन, २ सेप्टेम्बर
गए राति अमेरिकाले इरानमाथि भिषण सैन्य हमला गरेको छ । लगातार चार घण्टा सम्म चलेको आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । भीषण सैन्य हमला लगत्तै इरानले पनि खाडी मुलुकमा रहेको अमेरिकी सैनिक अखडाहरुलाई निशाना बनाएर अहिले मिसाइल र ड्रोन हमलाहरु सुरु गरेको छ ।

बीचमा केही समय स्थीर भएको युद्ध हिजोदेखि पुनः सुरु भएको हो । अमेरिका र इरानबीच पुनः सुरु भएको सैन्य मुठभेडले मध्यपूर्वी क्षेत्रलाई पुनः भीषण युद्धको संघारमा पुर्‍याएको छ । अमेरिकी वायुसेनाले इरानका विभिन्न सैन्य तथा रणनीतिक निशानाहरुमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेपछि इरानले पनि जोर्डनस्थित अमेरिकी सैन्य बेसका साथै छिमेकी खाडी मुलुकहरूलाई लक्षित गरी भारी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरेको छ । इराकमा रहेको अमेरिकी सैनिक अखडामा पनि भीषण हमला गरेको छ ।

अमेरिकी सेन्ट्रल कमाण्ड का अनुसार इरानी रिभोलुसनरी गार्ड कप्र्स आईआरजीसीले अन्तर्राष्ट्रिय समुद्री मार्ग र अमेरिकी सैनिकहरूमाथि आक्रमण गर्ने प्रयास गरेपछि त्यसको जवाफमा सेप्टेम्बर १ मा हवाई आक्रमणको लहर सञ्चालन गरिएको हो ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार इरानको दक्षिणी क्षेत्रहरू—बन्दर अब्बास, केसमे टापु, कोनारक, चाबहार, असलुयेह, जिरोफ्ट, जास्क, सिरिक र लाभानमा भीषण विस्फोटहरू भएका छन्। इरानी रेड क्रिसेन्टका अनुसार तटीय सहर सिरिक नजिकै विवाह समारोह भइरहेको एक घरमा अमेरिकी आक्रमण पर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ, जसमा एक बालक समेत रहेका छन् । उक्त घटनामा ५० भन्दा बढी नागरिक घाइते भएका छन् ।

अमेरिकी आक्रमण लगत्तै इरानका सर्वोच्च नेता मोज्तबा खानेमेईले एक सन्देश जारी गर्दै इरानी सशस्त्र बलसँग वासिङ्टनका लागि “कहिले नबिर्सिने पाठ“ बाँकी रहेको बताएका छन् । उक्त पाठ के हो भनेर स्पष्ट भइसकेको छैन । मोज्ताबा खामेनीले पहिलो पटक अमेरिकी आक्रमण लगत्तै प्रतिक्रिया दिएर अमेरिकी आक्रमणको बदला दिने घोषणा गरेका हुन् ।

लगत्तै इरानको आईआरजीसीले अमेरिकाको चेतावनीलाई बेवास्ता गर्दै जोर्डनमा रहेको प्रिन्स हसान एयर बेस र अमेरिकी म्यारिन बेसलाई लक्षित गरी भारी ब्यालिस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ । जोर्डनी सैन्य स्रोतका अनुसार उनीहरूको वायु रक्षा प्रणालीले आकाशमा प्रवेश गरेका १३ मध्ये १० वटा मिसाइललाई हावामै नष्ट गरिदिएको छ भने बाँकी ३ वटा मिसाइल जनशून्य क्षेत्रमा खसेकाले कुनै मानवीय क्षति भएको छैन ।

उता, इरानी आक्रमणको लहरसँगै खाडी क्षेत्रका अन्य मुलुकहरूमा पनि युद्धको जोखिम बढेको छ । कुवेतले इरानी ड्रोन आक्रमणको सामना गर्न आफ्नो एयर डिफेन्स प्रणाली सक्रिय पारेको छ भने बहराइनको गृह मन्त्रालयले आपत्कालीन चेतावनी (साइरन) बजाउँदै नागरिकहरूलाई सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट वक्तव्य जारी गर्दै इरानमाथिको आक्रमण “पूर्ण रूपमा औचित्यपूर्ण“ रहेको दाबी गरेका छन् । ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि असफल राष्ट्र इरानले यस न्यायोचित आक्रमणको बदला लिने दुस्साहस गरेमा, उसमाथि अझ कडा र उच्च स्तरको विनाशकारी प्रहार गरिनेछ ।’ अन्तर्राष्ट्रिय समाचार (अल जजीराको सहयोगमा)

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*