कृष्णभीरमा तत्काल अस्थायी संरचना बनाइने, वैकल्पिक सडकको पनि अध्ययन हुने

१७ भाद्र २०८३, बुधबार ०८:२२

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीर पहिरोका कारण प्रभावित सडक सञ्चालनलाई सहज बनाउन सरकारले तत्काल अस्थायी संरचना निर्माण गर्ने भएको छ ।

पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको बैठकले कृष्णभीरको सडक सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका लागि विभिन्न निर्णय गरेको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार विपद्को तत्काल सामना गर्न तथा प्रभावित क्षेत्र र राजधानीबीचको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम अघि बढाइनेछ ।

त्यस्तै ट्र्याक खोल्ने कामसँगै सेक्रिफिसियल ग्याबियन बक्स निर्माण गर्ने तथा हिलसाइडबाट बोल्डर तल खसाल्ने काम पनि गरिने मन्त्रालयले जनाएको छ । कृष्णभीरको दीर्घकालीन समाधानका लागि भने टनेल, सोइल नेलिङ र सिट पाइललगायतका विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने भएको छ ।

यसैगरी कृष्णभीरको विकल्पका रूपमा टनेल वा बाइपास सडक निर्माण गर्न सकिने सम्भावित स्थान तथा विकल्पको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

उक्त विकल्पहरूको प्राविधिक अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ । आवश्यकताअनुसार सोसाइटी र सडक विभागबीच समझदारीपत्र (एमओयू) समेत गरिने मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*