जुनसुकै ब्रान्डका सिलिन्डर रिफिल गर्न निगमको निर्देशन

१७ भाद्र २०८३, बुधबार १२:०६

काठमाडौँ । आयल निगमले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन तराई क्षेत्रमा रहेका ग्यास उद्योगलाई जुनसुकै ब्रान्डका सिलिन्डरमा ग्यास भरेर पठाउन निर्देशन दिएको छ।

निगमको एलपीजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले विभिन्न ग्यास उद्योगलाई पत्राचार गर्दै कृष्णभिरको पहिरो हटेर पृथ्वी राजमार्ग नियमित सञ्चालनमा नआएसम्म उपलब्ध जुनसुकै ब्रान्डका सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं तथा आसपासका जिल्लामा पठाउन भनेका हुन्।

निगमले हेटौँडास्थित सहारा ग्यास उद्योगलाई एभरेस्ट र सुगम ब्रान्डका सिलिन्डरमा समेत ग्यास भर्न निर्देशन दिएको छ। उद्योगका नाममा लोड भएर आउने ग्यास बुलेट सहारा उद्योगमा खाली गरी त्यहाँ उपलब्ध सिलिन्डरमा ग्यास भरेर ट्रकमार्फत वैकल्पिक सडकबाट काठमाडौं उपत्यका र आसपासका जिल्लामा आपूर्ति गर्न निगमले भनेको हो।

निर्देशनपछि सहारा ग्यास उद्योगले काठमाडौंका लागि एभरेस्ट र सुगम ब्रान्डका सिलिन्डरमा ग्यास भरेर सोमबार नै पठाएको थियो। तर, कान्ति लोकपथमा समेत पहिरोका कारण अवरोध भएपछि उक्त ग्यास मंगलबार दिउँसो करिब २ बजे मात्र काठमाडौं आइपुगेको थियो।

निगमको निर्देशनअनुसार नेपाल ग्यासले चितवन र धनुषामा रहेका आफ्ना प्लान्टबाट अन्य ब्रान्डका सिलिन्डरमा समेत ग्यास भर्न थालेको छ। त्यस्तै, सगर ग्यासले नवलपरासीस्थित चण्डेश्वरी प्लान्टबाट पनि सिलिन्डर रिफिल गर्न थालेको छ।

आफ्नो ब्रान्डबाहेक अन्य कम्पनीका सिलिन्डरमा ग्यास भरेर आपूर्ति गर्दा उत्पन्न हुने सुरक्षा जोखिम र अतिरिक्त खर्चको जिम्मेवारी सम्बन्धित ग्यास उद्योगले नै लिनुपर्ने निगमको निर्देशन छ। सडक अवरोधका कारण काठमाडौंमा ग्यास आपूर्ति प्रभावित हुन नदिन निगमले तत्कालका लागि यस्तो वैकल्पिक व्यवस्था अघि सारेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*