कागेश्वरी मनोहराकी इन्जिनियर ६४ हजार रुपैयाँ घुससहित पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत इन्जिनियर दिपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार नगरपालिकाको भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत कार्कीले स्टक्चर एनालाइसिसको काम स्वीकृत गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सूचना एवं उजुरीका आधारमा अख्तियारको टोलीले अनुसन्धान अघि बढाएको थियो।
आयोगका अनुसार कार्कीले पटक–पटक सेवाग्राहीलाई दुःख हैरानी दिई घुसका लागि बार्गेनिङ गरेको आरोप छ। सोही क्रममा रकम लिएर मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्कीलाई समेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।
अख्तियारको टोलीले दुवै जनालाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा भदौ १५ गते कागेश्वरी मनोहरा नगरपालिका कार्यालय, थली डाँछीबाट नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएको रकमसहित दुवै जनाविरुद्ध घुस/रिसवत भ्रष्टाचारसम्बन्धी अनुसन्धान अघि बढाइएको छ। भदौ १६ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।









