राधाकृष्ण मन्दिर निर्माणमा ६ लाख ८० हजार भ्रष्टाचार

१७ भाद्र २०८३, बुधबार १२:३९

काठमाडौं । रौतहटको परोहा नगरपालिका–९ स्थित राधाकृष्ण मन्दिरको भवन निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पर्यटन विकास कार्यालय, गौर, रौतहटमार्फत रामपुर पोखरीको डिलमा अधुरो शिवनाथ भवन निर्माण, भैरवनाथ मन्दिर निर्माण र राधाकृष्ण मन्दिरको अधुरो भवन निर्माणका लागि ५० लाख ६६ हजार ९७५ रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो ।

निर्माण कार्यका क्रममा स्थलगत नापजाँच गर्दा फिल्डमा भएको वास्तविक कामभन्दा नापी किताब र कार्यसम्पन्न प्रतिवेदनमा ६ लाख ८० हजार ५९२ रुपैयाँ बढी काम भएको देखाई भुक्तानी लिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार निर्धारित शर्त तथा मापदण्डविपरीत फिल्डमा नभएको कामलाई भएको देखाई नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरिएको र सोही आधारमा झुट्टा बिल तथा भरपाई बनाई बढी भुक्तानी गरिएको थियो ।

यस प्रकरणमा पर्यटन विकास कार्यालय, गौरका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्ले, इन्जिनियर सुदिप प्रकाश तिमल्सेना र इन्जिनियर नितिश कुमार पटेललाई प्रतिवादी बनाइएको छ । उनीहरूमाथि ६ लाख ८० हजार ५९२ रुपैयाँ बिगो कायम गरी कैद, बिगोबमोजिम जरिवाना तथा बिगो असुलउपरको मागदाबी गरिएको छ ।

त्यस्तै उक्त निर्माण योजनाको उपभोक्ता समितिका अध्यक्ष खहेरू साह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूलाई मुख्य कसुरदारलाई सहयोग गर्ने मतियारको आरोप लगाउँदै मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*