रसुवाको बाढीलाई बालेनले भने, ‘सिंगो नेपालको छातीमा परेको साझा बज्रपात’

१७ भाद्र २०८३, बुधबार १३:४२

काठमाडौं । बालेन शाहले रसुवामा आएको विनाशकारी बाढी कुनै एक जिल्लाको मात्र विपत्ति नभई सिंगो देशले भोगेको साझा पीडा भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहले, “यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो”, भने ।

भदौ १० गते बुधबार भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटसहित धादिङ, चितवन तथा गोरखाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ । तीमध्ये रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव भेटिएको छ ।

बाढीपछि ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको र २९२ जना घाइते भएको जानकारी प्रधानमन्त्री शाहले सदनलाई गराएका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

शाहले विपद्को यस कठिन घडीमा थकानका कारण विश्राम गर्ने अवस्था नरहेको बताए । उनले, “यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन”, भने ।

उनले विपद्मा आफ्ना आफन्त गुमाएका तथा अझै बेपत्ता आफन्तको खोजीमा रहेका नागरिकको पीडा आफूले गहिरो रूपमा महसुस गरेको बताए । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले प्रभावित परिवारप्रति सहानुभूति पनि व्यक्त गरे ।

संकटको समयमा राज्यले नागरिकलाई निराश बनाउने नभई हिम्मत, आड र भरोसा दिनुपर्ने प्रधानमन्त्री शाहको भनाइ छ । उनले, “संकटको घडीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ”, भने ।

विपत्तिको सामना गर्न दृढ संकल्प र साहसका साथ अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकार उद्धार, राहत र पुनर्स्थापनाका काममा निरन्तर जुटिरहेको जानकारी दिए । उनले, “हामी लडिरहेका छौँ”, भन्दै विपद्बाट प्रभावित नागरिकको जीवनरक्षालाई सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*