भोटेकोशी बाढी प्रभावित १५ पालिकालाई सरकारद्वारा १३ करोड ५० लाख निकासा

१८ भाद्र २०८३, बिहीबार ०८:२३

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहका लागि सरकारले १३ करोड ५० लाख रुपैयाँ निकासा गरेको छ। बाढीपछि राहत, उद्धार तथा तत्काल आवश्यक व्यवस्थापनका लागि सरकारले दुई चरणमा उक्त रकम उपलब्ध गराएको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत पहिलो चरणमा भदौ १२ गते ६ करोड ५० लाख र दोस्रो चरणमा भदौ १६ गते थप ६ करोड ५० लाख रुपैयाँ निकासा गरिएको हो। सरकारले बाढी लगत्तै रसुवा र नुवाकोटका लागि १/१ करोड तथा धादिङका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। त्यसपछि प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार थप रकम उपलब्ध गराइएको हो।

निकासा भएको रकममध्ये रसुवाको उत्तरगया गाउँपालिकाले १ करोड ५० लाख, गोसाइँकुण्ड गाउँपालिकाले २ करोड, कालिका गाउँपालिकाले ६० लाख र आमा छोदिङ्मो गाउँपालिकाले ४० लाख रुपैयाँ पाएका छन्। नुवाकोटका विदुर नगरपालिकालाई ३ करोड, बेलकोटगढी नगरपालिकालाई १ करोड ७५ लाख, किस्पाङ गाउँपालिकालाई ५० लाख र तारकेश्वर गाउँपालिकालाई १ करोड रुपैयाँ उपलब्ध गराइएको छ।

त्यस्तै धादिङको गल्छी गाउँपालिकालाई ६० लाख, सिद्धलेक, गजुरी र बेनीघाट गाउँपालिकालाई ४०/४० लाख रुपैयाँ निकासा गरिएको छ। गोरखाको गण्डकी गाउँपालिकालाई ४० लाख तथा तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई ४०/४० लाख रुपैयाँ उपलब्ध गराइएको छ।

यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ। त्यसमध्ये भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ करोड रुपैयाँ उपलब्ध गराइएको छ। त्यसपछि कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, प्रधानमन्त्री राहत कोषमा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर समेत जम्मा भएको सरकारले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*