१० दिनसम्म हाइड्रोपावरको सुरुङभित्र फसेका जीवितै, उद्धार कार्य तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै नुवाकोटको त्रिशूली नदीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरू १० दिनसम्म पनि जीवितै रहेको पाइएको छ।
उक्त जलविद्युत आयोजनाको सुरुङभित्र कैयौं व्यक्तिहरू फसेको र जीवितै हुनसक्ने ठानिएका कारण उद्धार टोलीले लगातार सुरुङमार्ग खोलेर उनीहरूसम्म पुग्ने प्रयास गरिरहेको थियो।
यसै क्रममा उद्धार टोलीले सुरुङमा फसेका व्यक्तिहरूको आवाज सुनेपछि दोहोरो संवाद समेत भएको छ। उक्त सुरुङमा एकभन्दा बढी व्यक्तिहरूको आवाज सुनिएको हो। उद्धार टोलीले सुरुङमा फसेकाहरूलाई आवाज दिंदै “नआत्तिनुहोस् हामी छिट्टै उद्धार गर्छौं” भनी कराउँदा सुरुङभित्रबाट “हुन्छ” भन्ने स्पष्ट जवाफ आएको हो।
उक्त जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरू दशौं दिनसम्म पनि जीवित र सचेत अवस्थामा रहेको पुष्टि भएपछि उद्धार कार्यलाई एकदमै तीव्र पारिएको छ। उद्धारस्थलमै रहेका रास्वपाका सांसद श्रीराम न्यौपानेले यसबारे जानकारी समेत दिएका छन्।
उनले फेसबूकमा लेखेका छन् “भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।”
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम शुरुदेखि नै भइरहको थियो। आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेको थियो।
सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामसहितका संरचना तथा ठूलठूला ढुंगाहरु (डेब्रिस) छन्। रातदिन निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट ३ फिट जति सुरुङको मुख खुलाइएको थियो। यससँगै उद्धार टोली त्यसभित्र १५–२० मिटर परसम्म पुगिसकेको छ भने एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य जारी छ। यो सुरुङ १७० मिटर जति लम्बाइको छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पुग्न सकिनेछ।









