आज कृष्ण जन्माष्टमी, देशभर सार्वजनिक बिदा

१९ भाद्र २०८३, शुक्रबार ०८:४८

काठमाडौं । हिन्दु धर्मावलम्बीको एक प्रमुख पर्व कृष्ण जन्माष्टमी आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना, व्रत तथा विभिन्न धार्मिक कार्यक्रम गरी मनाइँदैछ । भगवान् विष्णुको आठौं अवतारका रूपमा मानिने श्रीकृष्णको जन्मोत्सवका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म मथुराको कारागारमा भएको थियो । मथुराका राजा कंसले आफ्नी बहिनी देवकी र उनका पति वसुदेवलाई कारागारमा राखेका थिए । देवकीको आठौं सन्तानबाट आफ्नो मृत्यु हुने आकाशवाणी भएपछि कंसले देवकीका सन्तानलाई जन्मिनासाथ हत्या गर्न थालेको धार्मिक मान्यता पाइन्छ ।

तर देवकीको आठौं सन्तानका रूपमा श्रीकृष्ण जन्मिएपछि अद्भुत घटना भएको धार्मिक कथन छ । मध्यरातमा कृष्ण जन्मिएसँगै कारागारका ढोका आफैं खुलेका, पहरेदारहरू निदाएका र वसुदेवले नवजात कृष्णलाई टोकरीमा राखेर यमुनापारि गोकुल पुर्‍याएको र त्यहाँ नन्द र यशोदाको घरमा कृष्णलाई सुरक्षित हुर्काइएको कथामा उल्लेख छ ।

गोकुलमा बाल्यकाल बिताएका कृष्णका अनेकौं लिला अत्यन्तै प्रचलित छन् । बाल्यकालमै उनले कंसले पठाएका विभिन्न राक्षसहरूको वध गरेको, कालिया नागको दमन गरेको तथा गोवर्धन पर्वत उठाएर गोकुलवासीलाई इन्द्रको भारी वर्षाबाट जोगाएको कथा निकै प्रसिद्ध छ ।

पछि कृष्णले मथुरा पुगेर अत्याचारी कंसको वध गरेको धार्मिक मान्यता छ । महाभारतकालमा भने उनी पाण्डवका पक्षमा रहेर अर्जुनका सारथी बनेर कौरवका विरुद्धमा लडेका थिए । कुरुक्षेत्रको युद्धमा अर्जुनलाई दिएको उपदेशलाई भगवद्गीताका रूपमा हिन्दु धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थ मानिन्छ ।

कृष्ण जन्माष्टमीका अवसरमा आज देशभरका कृष्ण मन्दिरमा विशेष पूजा, आराधना, भजन–कीर्तन, दीप प्रज्वलन तथा धार्मिक कार्यक्रम भइरहेका छन् । भक्तजनहरू बिहानैदेखि मन्दिरमा पुगेर दर्शन तथा पूजा–आराधना गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*