एनसेलका सीईओ माइकल फोलेले दिए राजीनामा

१९ भाद्र २०८३, शुक्रबार ११:११

काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले राजीनामा दिएका छन्। २०८२ कात्तिक १५ गतेदेखि एनसेलको सीईओको जिम्मेवारी सम्हाल्दै आएका फोलेले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको हो।

फोलेको राजीनामा स्वीकृत गर्दै एनसेल सञ्चालक समितिले भदौ ९ गतेदेखि लागू हुने गरी नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नभएसम्मका लागि प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ।

नयाँ सीईओ नियुक्त नभएसम्मका लागि श्रेष्ठलाई आवश्यक ‘लिमिट अफ अथोरिटी’ समेत प्रदान गरिएको एनसेलले जनाएको छ।

यसैबीच, एनसेलले आफ्नो उच्च व्यवस्थापनमा अवकाशप्राप्त नेपाली सेनाका उच्च अधिकृतलाई समेत भित्र्याएको छ। स्रोतका अनुसार नेपाली सेनाका पूर्व मेजर जनरल सन्तोषकुमार ढकाललाई एनसेलले ‘चिफ अफ स्टाफ’को जिम्मेवारी दिएको छ।

त्यस्तै, कर्पोरेट कम्युनिकेसन तथा सस्टेनिबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको जिम्मेवारी दिइएको छ।

एनसेलले व्यवस्थापनमा भएको फेरबदलसम्बन्धी जानकारी भदौ १६ गते नै नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचारमार्फत गराइसकेको छ। प्राधिकरणका एक अधिकारीले एनसेलको सीईओ परिवर्तनसम्बन्धी पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

पछिल्लो समय सरकारको स्वामित्वमा गएको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसेललाई बिक्री गरेको विषयलाई लिएर बैंक तथा एनसेलका अधिकारीविरुद्ध मुद्दा दायर भएको छ। मुद्दा दायर भएपछि नेपालमा बसेर काम गर्ने अवस्था नरहेकाले फोलेले राजीनामा दिएको बुझिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*