बालेन्द्र शाह र अस्ट्रेलियाली समकक्षीबिच फोनवार्ता

काठमाडौँ । बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबिच आज टेलिफोन वार्ता भएको छ। बिहान १० बजे भएको टेलिफोन वार्तामा शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका वेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्त्वपूर्ण रहेको बताए।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा हालै आएको विनाशकारी बाढी तथा सुनामीजस्तै विनाशप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै अस्ट्रेलिया नेपालको साथमा रहेको र आवश्यकता परेका क्षेत्रमा सहयोग उपलब्ध गराइरहेको बताएका हुन्।
अल्बानिजले मानवीय सहायता सामग्री, उपकरण र विशेष क्षमताका प्राविधिक टोलीमार्फत सहयोग जारी राखिएको जनाएका छन्। बाढीका कारण भएको जनधनको क्षति अत्यन्तै हृदयविदारक भएको उनले उल्लेख गरेका छन्। उनले नेपालमा अझै बेपत्ता रहेका अस्ट्रेलियाली नागरिकको खोजीका लागि हरसम्भव प्रयास गरिने बताएका छन्।
बेपत्ता अस्ट्रेलियालीका परिवार तथा आफन्तजनप्रति उनले सहानुभूति प्रकट गरेका छन्। प्रधानमन्त्रीले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरूले देखाउनुभएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गरे ।









