स्रोत नखुलेको १३ लाख ९२ हजार रुपैयाँसहित सिराहामा एकजना पक्राउ

काठमाडौँ । सिराहामा स्रोत नखुलेको १३ लाख ९२ हजार ४ सय रुपैयाँसहित एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका–७ स्थित हेमनारायण चोकनजिकबाट बिहीबार साँझ सिराहा नगरपालिका–२ का करिब ३५ वर्षीय जितेन्द्र महासेठ पक्राउ परेका हुन्।
विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर साथमा रहेको झोला खानतलासी गर्दा ठूलो परिमाणमा नगद फेला पारेको जनाएको छ। बरामद रकममा एक हजार रुपैयाँ दरका १ हजार ९२ वटा, पाँच सय रुपैयाँ दरका ५९९ वटा तथा एक सय र ५० रुपैयाँ दरका ६–६ वटा नोट रहेका छन्।
रकमको स्रोत खुल्ने कुनै प्रमाण वा कागजपत्र महासेठले प्रस्तुत गर्न नसकेपछि उनलाई नगदसहित जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।









