राहत दिँदाको फोटो खिचेर बालबालिकाको पहिचान नखुलाउनूः नेपाल प्रहरी

१९ भाद्र २०८३, शुक्रबार १६:०५

काठमाडौं । नेपाल प्रहरीले बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरण सामाजिक सञ्जालमा सार्वजनिक नगर्न आग्रह गरेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा बालबालिकाको पहिचान खुल्ने सामग्री सार्वजनिक भइरहेको विषयमा प्रहरीले गम्भीर चासो व्यक्त गर्दै विशेष सावधानी अपनाउन अनुरोध गरेको हो।

प्रहरीले विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकासम्बन्धी सामग्री सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, आत्मसम्मान र मानसिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पर्न सक्ने जनाएको छ। पीडित वा प्रभावित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण, अनुहार तथा पहिचान खुल्ने अन्य विवरण सार्वजनिक नगर्न र आवश्यक अवस्थामा पहिचान लुकाउन प्रहरीले आग्रह गरेको छ।

त्यस्तै, बालबालिकाको असहाय वा रोइरहेको अवस्था देखाएर सामग्री भाइरल बनाउने, सहानुभूति बटुल्ने वा आर्थिक सहयोग जुटाउने उद्देश्यले उनीहरूको आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन तथा प्रसारण नगर्न पनि आग्रह गरिएको छ।

मानसिक रूपमा प्रभावित बालबालिकासँग पटक–पटक अन्तर्वार्ता लिने, घटना सम्झन बाध्य पार्ने वा उनीहरूको पीडालाई पुनः प्रदर्शन गर्ने किसिमका सामग्री तयार नगर्न प्रहरीले अनुरोध गरेको छ।

नेपाल प्रहरीले बालबालिकाको पहिचान खुल्ने तस्बिर, भिडियो वा डिजिटल सामग्रीलाई अनुमति र आवश्यक संवेदनशीलताबिना पुनःप्रसारण, सम्पादन, मीम वा अन्य स्वरूपमा प्रयोग नगर्न पनि आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*