कोरला नाकाबाट आएको सामान अब चोभारमै जाँचपास

काठमाडौं । मुस्ताङको कोरला नाकाबाट भित्रिने मालसामान अब काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा लगेर जाँचपास गर्न सकिने भएको छ ।
भन्सार विभागले मुस्ताङको नेचुङ भन्सार कार्यालय हुँदै पैठारी हुने वस्तु चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास गर्न चाहने पैठारीकर्ताका लागि सडक मार्ग तोक्दै आन्तरिक परिवहनको सुविधा दिने निर्णय गरेको हो ।
भन्सार ऐन, २०६४ को दफा ६४ तथा भन्सार नियमावली, २०६४ को नियम ६२ को उपनियम ७ बमोजिम विभागले यस्तो व्यवस्था गरेको जनाएको छ ।
व्यवस्थाअनुसार कोरला नाकाबाट भित्रिएका मालवाहक सवारीसाधनले चोभारसम्म पुग्दा विभागले तोकेका सडक मार्गमध्ये कुनै एक प्रयोग गर्नुपर्नेछ । पहिलो मार्ग कोरला–नेचुङ–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलङ्की हुँदै चोभार पुग्ने रहेको छ ।
त्यस्तै, वैकल्पिक मार्गका रूपमा मुग्लिङ–नारायणघाट–हेटौंडा–भैसे–नौबिसे–कलङ्की हुँदै चोभार सुक्खा बन्दरगाह पुग्ने सडकलाई तोकिएको छ ।
गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि भने थप विकल्प दिइएको छ । त्यस्ता सवारीसाधनले मुग्लिङ, नारायणघाट, हेटौंडा र भैसे हुँदै फर्पिङको बाटो प्रयोग गरेर चोभारसम्म पुग्न सक्नेछन् ।
अर्को निर्णय नभएसम्मका लागि लागू हुने यो सुविधाअन्तर्गत पैठारीकर्ताले भन्सार नियमावलीमा उल्लेखित सर्त, प्रक्रिया तथा अन्य व्यवस्था अनिवार्य रूपमा पालना गर्नुपर्ने विभागले जनाएको छ ।
रसुवा नाका बाढीका कारण अवरुद्ध भएपछि उत्तरी नाकाबाट हुने व्यापारिक गतिविधिलाई सहज बनाउन यो व्यवस्था गरिएको हो । विभागको निर्णयले कोरला नाकाबाट भित्रिने मालसामानको ढुवानी तथा भन्सार जाँचपासमा सहजता ल्याउनुका साथै चोभार सुक्खा बन्दरगाहको उपयोग बढाउने अपेक्षा गरिएको छ।










