पहिरोले दार्चुलाको चौलानी नदी आंशिक थुनियो, बाढीको जोखिम

काठमाडौँ । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ भट्टार क्षेत्रमा पहिरो खस्दा चौलानी नदी थुनिएको छ। माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएपछि नदीको बहाव प्रभावित भएको हो।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पहिरो खस्ने क्रम जारी रहेकाले नदी थप थुनिन सक्ने सम्भावना रहेको जनाएको छ। नदी थुनिएर एक्कासि फुटेमा बाढी आउन सक्ने जोखिम रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।
हाल चौलानी नदीको अवस्था केही सामान्य बन्दै गएको भए पनि पुनः पहिरो खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी तटीय तथा आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरिएको छ।
हालसम्म पहिरोका कारण कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रशासनले जनाएको छ।









