रसुवा–भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति गठन

१९ भाद्र २०८३, शुक्रबार १६:५२

काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न सरकारले उपयुक्त जग्गा पहिचानका लागि समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई बाढीका कारण घर तथा जग्गामा क्षति पुगेका, हालको बसोबास जोखिमयुक्त बनेका तथा जोखिमकै बीच प्रभावित क्षेत्रमा बसिरहेका परिवारको यथार्थ अवस्था पहिचान गर्ने जिम्मेवारी दिइएको छ ।

समितिमा सङ्घीय मामिला महाशाखा, पूर्वाधार मन्त्रालय, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, सम्बन्धित जिल्लाका प्रशासन कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भूमि प्रशासन तथा नापी कार्यालयका प्रतिनिधि सदस्य छन् । उपसचिव दामोदर वाग्ले सदस्य–सचिव रहेका छन् ।

समितिले प्रभावित परिवारको विवरण सङ्कलनसँगै पुनःस्थापनाका लागि आवश्यक पर्ने जग्गाको खोजी र छनोट गर्नेछ । स्थानीय तहको समन्वयमा सम्बन्धित भूमि प्रशासन तथा नापी कार्यालयको सहयोग लिएर सम्भावित स्थान पहिचान गरिने मन्त्रालयले जनाएको छ ।

पहिचान गरिएका स्थानमा स्थलगत अध्ययन गरी भौगोलिक अवस्था, बाढी तथा पहिरोको सम्भावित जोखिम, बसोबासका लागि उपयुक्तता र आवश्यक पूर्वाधारको अवस्थाबारे मूल्याङ्कन गरिनेछ । विषयविज्ञको सहयोगमा प्रारम्भिक विपद् जोखिम मूल्याङ्कनसमेत गरिने मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*