एनसेलका सीईओ फोलेले किन दिए राजीनामा ?

१९ भाद्र २०८३, शुक्रबार १७:०६

काठमाडौं । नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले जिम्मेवारी सम्हालेको एक वर्ष नपुग्दै पदबाट राजीनामा दिएका छन् । उनको अप्रत्याशित बहिर्गमनले नेपालमा वैदेशिक लगानी र ठूला बहुराष्ट्रिय कम्पनीले भोगिरहेको नियामकीय तथा व्यावसायिक वातावरणमाथि गम्भीर प्रश्न उठाएको छ ।

फोलेले गत भदौ ९ गते नै राजीनामा दिएको भए पनि एनसेलले त्यसलाई तत्काल सार्वजनिक गरेको थिएन । कम्पनीले भदौ १६ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई औपचारिक रूपमा जानकारी गराएपछि मात्र उनको बहिर्गमनबारे सार्वजनिक भएको हो । नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई आवश्यक अधिकारसहित अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ ।

फोलेको राजीनामाको पृष्ठभूमिमा एनसेलको अनुमतिपत्र, कम्पनीको सम्पत्ति तथा लगानीसम्बन्धी सरकारी नीति र पछिल्ला नियामकीय निर्णयहरू जोडिएका छन् । एनसेलको २५ वर्षे अनुमतिपत्रको अवधि सकिन अब करिब तीन वर्ष मात्रै बाँकी छ । यही अवस्थामा दूरसञ्चार प्राधिकरणले पूर्वस्वीकृति नलिई कम्पनीका जग्गा, भवन, उपकरण तथा बीटीएस टावरलगायत सम्पत्ति बिक्री, हस्तान्तरण वा धितो राख्न रोक लगाएपछि कम्पनीमाथि थप नियामकीय दबाब बढेको छ ।

एनसेलको दीर्घकालीन व्यावसायिक योजना र नयाँ लगानीको सम्भावनाका बीच यस्ता निर्णय आउनुले व्यवस्थापन तहमा असन्तुष्टि बढाएको बताइएको छ । फोले नेपाल आउँदा उच्च गतिको ५जी सेवा विस्तार, घरघरमा फाइबर इन्टरनेट पुर्‍याउने तथा आधुनिक डाटा सेन्टर निर्माणजस्ता योजनालाई अघि बढाउने लक्ष्यमा थिए । सरकारले अनुकूल वातावरण बनाइदिए नेपालमा करिब २५ करोड अमेरिकी डलर थप लगानी गर्ने योजना पनि उनले अघि सारेका थिए ।

तर, अनुमतिपत्रको भविष्य, सम्पत्तिमाथिको नियामकीय नियन्त्रण, कानुनी विवाद तथा सरकारी नीतिको अनिश्चितताका कारण प्रस्तावित लगानी कार्यान्वयनमा चुनौती थपिएको देखिन्छ । निजी क्षेत्र र विदेशी लगानीकर्ताले लामो समयदेखि लगानीको सुरक्षा, नीतिगत स्थिरता र स्पष्ट नियमनको माग गर्दै आएका छन् । एनसेलको पछिल्लो घटनाक्रमले ती विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ ।

यसबीच स्मार्ट टेलिकमको सम्पत्ति खरिद–बिक्रीसँग सम्बन्धित प्रकरणमा एनसेल तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च अधिकारीसमेत कानुनी विवादमा तानिएपछि एनसेल व्यवस्थापनमाथि थप दबाब परेको थियो । विदेशी लगानीसँग जोडिएका व्यावसायिक निर्णयहरू नै कानुनी अनुसन्धान र विवादको विषय बन्न थालेपछि लगानीकर्ताको जोखिम मूल्यांकनमा समेत त्यसको प्रभाव पर्न सक्ने देखिन्छ ।

फोलेको बहिर्गमनसँगै एनसेलको व्यवस्थापन संरचनामा पनि परिवर्तन गरिएको छ । डिल्लीराम श्रेष्ठलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ भने अवकाशप्राप्त मेजर जनरल सन्तोषकुमार ढकाललाई चिफ अफ स्टाफ बनाइएको छ । त्यस्तै, कर्पोरेट कम्युनिकेसन निर्देशक विशाखा लक्ष्मी खड्कालाई एनसेल फाउन्डेसनको निर्देशकको जिम्मेवारी दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*