पुरानो सोचले नयाँ नेपाल बन्दैन, अझै समय छ-सुध्रिनुस् : गृहमन्त्री गुरुङ

२३ भाद्र २०८३, मंगलवार १५:५७

काठमाडौँ ।  गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको इतिहासलाई तोडमोड गर्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई चेतावनी दिएका हुन्।

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई अपमान गर्नु देशका नागरिकको भावनालाई अपमान गर्नु भएको बताए। उनले आन्दोलनको इतिहास कसैले परिवर्तन गर्न नसक्ने भन्दै त्यसलाई तोडमोड गर्ने प्रयास नगर्न आग्रह गरे। ‘त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्,’ उनले भने।

गुरुङले पुराना दलका नेताहरूलाई आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गर्दै पुरानो सोचबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताए। ‘अझै पनि समय छ, सुध्रिनुस्। त्यही पुरानो सोचले नयाँ नेपाल बनाउन सकिँदैन,’ उनले भने।

आफूहरू सत्ताको लोभ वा शक्तिको घमण्डका कारण राजनीतिमा नआएको दाबी गर्दै गुरुङले भदौ २३ गते भएको आन्दोलनमा समेत आफूहरू तत्कालीन सत्ताको पक्षमा नरहेको बताए। जनताले विश्वास गरेर आफूहरूलाई जिम्मेवारी दिएको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारीप्रति आफू अत्यन्त सचेत रहेको बताए।

कामका क्रममा कुनै कमजोरी नहोस् भनेर आफू निरन्तर प्रयासरत रहेको बताउँदै गुरुङले जिम्मेवारीप्रति गम्भीर रहेको सुनाए। ‘मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा,’ उनले भने।

गृहमन्त्री गुरुङले सुशासनको पक्षमा उभिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोप पनि लगाए। अहिलेको सरकारले जेनजी आन्दोलनका माग सम्बोधन गर्ने गरी काम गरिरहेको उनको दाबी थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*