विद्यालय व्यवस्थापन समिति सदस्यले लिए २ लाख घुस, अख्तियारले हाल्यो मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य बमले तोकिएबमोजिमको थप सेवा सुविधा तथा पारिश्रमिक उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ।
उजुरीका आधारमा अख्तियारको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले बमलाई सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा बमले विद्यालय व्यवस्थापन समिति सदस्यको हैसियत प्रयोग गर्दै सेवासुविधा उपलब्ध गराइदिने निर्णय गराइदिन्छु भन्दै सेवाग्राहीसँग बार्गेनिङ गरी घुस लिएको अख्तियारको दाबी छ।
आयोगले बमको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर भएको ठहर गर्दै दुई लाख रुपैयाँ बिगो कायम गरेको छ। आयोगले बिगो बराबर जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।











