पूर्वाञ्चल ल्युब आयलको लाभांश पारित, बुक बिल्डिङमार्फत आईपीओको तयारी

१८ आश्विन २०८३, आईतवार १०:२१

काठमाडौं । पीएलओ ब्रान्डका ल्युब्रिकेन्ट उत्पादन गर्दै आएको पूर्वाञ्चल ल्युब आयल लिमिटेडले चुक्ता पुँजीको करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको २७औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गरेको हो।

साधारणसभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसमेत पारित गरेको छ। सभाबाट आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पनि अनुमोदन भएका छन्।

लाभांश वितरणसँगै कम्पनीले व्यवसाय विस्तारका लागि सार्वजनिक शेयर निष्कासनमार्फत पुँजी जुटाउने योजना अघि बढाएको छ। कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासनको तयारी गरिरहेको जनाएको छ।

बुक बिल्डिङ प्रक्रियाअन्तर्गत योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ। यो संख्या योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको हिस्सा मात्र हो, कम्पनीले निष्कासन गर्न लागेको कुल आईपीओको परिमाण भने होइन।

बुक बिल्डिङ प्रक्रियालाई अघि बढाउन कम्पनीले यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से)सँग सम्झौता गरिसकेको छ। सम्झौता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको शेयरको बोलपत्रसम्बन्धी कार्य सञ्चालनका लागि गरिएको हो। नेप्सेसँग यस्तो सम्झौता गर्ने पाँच कम्पनीमध्ये पूर्वाञ्चल ल्युब आयल पनि एक हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*