हिमालय ऊर्जा विकासले बोलायो वार्षिक साधारणसभा, शेयरधनीको हात भने रित्तो

काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनीले कात्तिक १६ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनी सञ्चालक समितिको असोज १८ गते बसेको १३४औँ बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो।
सभा काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको अर्पण बैंक्वेटमा बिहान ११ बजे सुरु हुनेछ। सभामा कम्पनीका अध्यक्षले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
त्यसैगरी, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह विवरणलगायत वित्तीय प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक तोक्ने प्रस्तावमाथि पनि निर्णय गर्नेछ। सञ्चालकको पारिश्रमिक घटाइएको विषयमा छलफल गर्नुका साथै कम्पनीको बाँकी कार्यकालका लागि नियुक्त स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत राखिएको छ।
कम्पनीले सार्वजनिक गरेको साधारणसभाको कार्यसूचीमा यसपटक लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।











