बजारमा थपिँदैछन् ३० करोड थान २ रुपैयाँका सिक्का, राष्ट्र बैंकले माग्यो ग्लोबल टेन्डर

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान सिक्का टकमरी (मिन्टिङ) गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सोमबार सूचना जारी गर्दै पूर्व–योग्यता प्राप्त अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूलाई प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा सहभागी हुन आह्वान गरेको हो।
साना दरका मुद्रा तथा सिक्काको उपलब्धता सहज बनाउने र मौज्दात व्यवस्थापनलाई सन्तुलित राख्ने उद्देश्यले राष्ट्र बैंकले सिक्का आपूर्तिको प्रक्रिया अघि बढाएको जनाएको छ। यसअघि आइतबार मात्रै केन्द्रीय बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्का टकमरी तथा आपूर्तिका लागि पनि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। यससँगै दुई दिनमा १ र २ रुपैयाँ दरका गरी कुल ७० करोड थान सिक्का उत्पादन तथा आपूर्तिको प्रक्रिया अघि बढेको छ।
२ रुपैयाँ दरका सिक्काको बोलपत्र ‘एकल चरण, दुई खाम’ प्रणालीअन्तर्गत हुने राष्ट्र बैंकले जनाएको छ। इच्छुक कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेश गर्नुपर्नेछ।
बोलपत्रमा सहभागी हुन चाहने कम्पनीले आगामी ३ नोभेम्बर २०२६ सम्म २० हजार रुपैयाँ दस्तुर तिरेर बोलपत्रसम्बन्धी कागजात खरिद गर्न सक्नेछन्। उक्त दस्तुर १३१ अमेरिकी डलर वा ११५ युरोमा पनि तिर्न सकिने व्यवस्था गरिएको छ।
बोलपत्र प्रक्रियासम्बन्धी प्रि-बिड बैठक अक्टोबर १६ मा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा हुने तय गरिएको छ। कम्पनीहरूले नोभेम्बर ४, २०२६ को दिउँसो १२ बजेसम्म आफ्नो बोलपत्र पेश गरिसक्नुपर्नेछ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने राष्ट्र बैंकले जनाएको छ।
बोलपत्रमा सहभागी हुने कम्पनीले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी अर्थात् जमानत रकम पेश गर्नुपर्नेछ। विदेशी मुद्रा वा नेपाली रुपैयाँमा समेत उक्त रकम बराबरको जमानत राख्न सकिनेछ।
बोलपत्र खुलेको मितिदेखि १२० दिनसम्म यसको मान्यता रहनेछ। यस्तै, बोलपत्रसँग पेश गरिने जमानत रकम आगामी ३ अप्रिल २०२७ सम्म मान्य हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।











