राताम्य यात्रामा पुँजी बजारः लगानीकर्ता प्रवेश र एक्जिटमै अलमल, किन छ जोखिमको डर ?

१९ आश्विन २०८३, सोमबार १५:०३

काठमाडौँ । शेयर बजारमा सुधारका लागि सरकारी तथा नियामक तहबाट विभिन्न नीतिगत प्रयास भइरहे पनि त्यसको प्रत्यक्ष प्रभाव कारोबार र सूचकमा अझै स्पष्ट देखिन सकेको छैन । प्रतिनिधिसभाको अर्थ समितिमा नियामक, लगानीकर्ता र बजारका अन्य सरोकारवालाबीच सुधारका उपायबारे छलफल भइरहेका छन् । २१ बुँदे राहत तथा सुधार प्याकेज, पुँजीगत लाभकरमा गरिएको परिवर्तन तथा सम्पत्ति शुद्धीकरणसँग जोडिएका विषयमा देखिएको अन्योल हटाउने प्रयासले बजारको वातावरण सहज बनाउन खोजिए पनि त्यसको तत्कालीन परिणाम भने अपेक्षाअनुसार देखिएको छैन ।

नेपाल राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित केही प्रावधानमा सहजीकरण गरेको छ भने नेपाल धितोपत्र बोर्डले पनि लगानीकर्ताको विश्वास बढाउने र बजारलाई थप व्यवस्थित बनाउने प्रयास अघि बढाइरहेको छ । लामो समयदेखि बजार ओरालो लाग्दा धेरै कम्पनीका शेयरमूल्य तुलनात्मक रूपमा न्यून बिन्दुमा आएका छन्। अर्कोतर्फ, सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश घोषणा गर्न थालेपछि बजारमा खरिद चाप बढ्ने अनुमान थियो। तर समग्र आर्थिक तथा बजार वातावरणप्रतिको अन्योल कायमै रहेकाले यी सकारात्मक संकेतले मात्रै लगानीकर्तालाई अपेक्षित रूपमा आकर्षित गर्न सकेका छैनन्।

दशैं नजिकिँदै गर्दा पारिवारिक तथा चाडपर्वसँग सम्बन्धित खर्च जुटाउन केही लगानीकर्ताले शेयर बेच्ने क्रम बढेको बजारका सहभागीहरूको भनाइ छ। बजारमा नयाँ पुँजी प्रवेश गर्ने गति सुस्त रहँदा बिक्रीको दबाब थपिएपछि शेयरमूल्य उकासिन कठिन भइरहेको छ। त्यसैगरी, ठूला लगानीकर्ताको लगानी स्रोत तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा निरन्तर चासो देखिएपछि ठूलो रकम परिचालन गर्ने लगानीकर्ता पनि तत्काल निर्णय लिनबाट पछि हटेका छन्। ठूला लगानीकर्ताको सक्रियता घट्दा साना र मध्यम लगानीकर्ताको कारोबारले मात्र बजारमा पर्याप्त माग धान्न नसकेको अवस्था देखिएको छ।

बजारको पछिल्लो अवस्थाले लगानीकर्तालाई शेयर किनेर बजार प्रवेश गर्ने कि अझै पर्खने, र लगानी गरिसकेकाले अहिले बेचेर बाहिरिने कि होल्ड गर्ने भन्ने दोधारमा पारेको छ। घटेको मूल्यले खरिदको अवसर देखाए पनि बजारले दिगो गति समात्ने विश्वास कमजोर हुँदा नयाँ लगानीकर्ता जोखिम लिन हिच्किचाइरहेका छन्। अर्कोतर्फ, पहिल्यै लगानी गरिसकेकाहरूले थप गिरावट आउने हो कि सुधार सुरु हुने हो भन्ने स्पष्ट संकेत नपाउँदा नाफा–घाटा हिसाब गरेर एक्जिट हुने निर्णय लिन सकेका छैनन्। बजार प्रवेश र बहिर्गमन दुवैतर्फ निर्णय लिन कठिन भएपछि लगानीकर्ताको ‘पर्ख र हेर’ रणनीति हाबी हुँदा कारोबारमा समेत अपेक्षित उत्साह आउन सकेको छैन।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.४८ अकंले घटेर २५६६.७६ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको ९० लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २७ करोड ९५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज व्यापार समूहको शेयर मूल्यमा मात्रै सामान्य सुधार देखिएको हो ।

सोमबार ३२ कम्पनीको शेयर मूल्य बढेको छ भने २४२ कम्पनीको घटेको छ । ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*