ग्यास अभावमा विक्रेता आक्रोशित, निगमसँग उद्योगको खुद्रा बिक्री रोक्न माग

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको र उपभोक्ताले सास्ती खेप्नुपरेको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल रोक्न नेपाल आयल निगमसँग माग गरेको छ।
महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै ग्यास उद्योगहरूले प्रत्यक्ष रूपमा उपभोक्तालाई सिलिन्डर बिक्री गर्ने अभ्यास बन्द गरी डिलरमार्फत मात्र बिक्री वितरणको व्यवस्था गर्न आग्रह गरेको हो।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर रहनु नै ग्यास आपूर्ति व्यवस्थापनमा समस्या सिर्जना गर्ने प्रमुख कारण भएको दाबी गरेका छन्। उनका अनुसार बजारमा सिलिन्डरको संख्या व्यवस्थापन गर्नुपर्ने अवस्थामा समेत विभिन्न ग्यास उद्योगले २ हजार ५०० देखि २ हजार ७०० रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेका छन्। महासंघले यस्तो अभ्यासप्रति आपत्ति जनाउँदै नेपाल आयल निगम र सरकारको भूमिकामाथिसमेत प्रश्न उठाएको छ।
महासंघका अनुसार बजारमा रहेका अनावश्यक सिलिन्डरको धरौटी रकम फिर्ता गरी तिनको व्यवस्थापन गर्नुपर्नेमा उल्टै नयाँ आकारका सिलिन्डर बजारमा ल्याउने तयारी भइरहेको छ। विशेषगरी ५ किलो, १९ किलो, ५० किलो र ४५० किलो क्षमताका नयाँ सिलिन्डर बिक्री गर्ने योजनाले उपभोक्तामाथि थप आर्थिक भार पर्ने महासंघको भनाइ छ।
ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगस्तरबाट भइरहेको खुद्रा बिक्री रोक्दै डिलरमार्फत मात्र बिक्री वितरण गर्ने स्पष्ट व्यवस्था गर्नुपर्ने माग महासंघले अघि सारेको छ। उद्योगले प्रत्यक्ष रूपमा उपभोक्तालाई सिलिन्डर बिक्री गर्दा वितरण प्रणालीमा असन्तुलन बढ्नुका साथै डिलर व्यवसायसमेत प्रभावित हुने महासंघको दाबी छ।
महासंघले ग्यास अभावको वास्तविक कारण पहिचान गरी सम्बन्धित सबै सरोकारवालासँग आवश्यक परामर्श गरेर सहज आपूर्ति सुनिश्चित गर्न निगमको ध्यानाकर्षण गराएको छ। साथै, हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४.२ किलो क्षमताको ग्यास सिलिन्डरको उचित व्यवस्थापन गर्नसमेत माग गरिएको छ।











