आज देशभर बदली, केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

२२ आश्विन २०८३, बिहीबार ०८:३२

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभावका कारण आज देशभरको मौसममा बदली रहने भएको छ। केही प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै भू–भाग तथा कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदली छ। कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहने तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। पहाडी क्षेत्रमा पनि मेघगर्जन, चट्याङ् र कतिपय स्थानमा असिनासहित वर्षाको सम्भावना छ।

मधेशसहित कोशी प्रदेशका तराईका थोरै तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा मध्यमसम्म वर्षा हुन सक्नेछ। बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति कोशी प्रदेशका सबै भू–भाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ।

मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा समेत केही स्थानमा मेघगर्जन र चट्याङ्सहित मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार र शनिबार पनि देशका हिमाली तथा पहाडी भू–भागमा बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङ्, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना रहेको छ। शुक्रबार कोशी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र बागमतीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। शनिबार भने वर्षाको प्रभाव केही कम हुँदै जाने र राति तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*