उपत्यकाको हावा खराबदेखि अति खराबसम्म : सर्वेक्षण

२२ आश्विन २०८३, बिहीबार ११:०६

काठमाडौँ । काठमाडौं उपत्यकाका ५२.३ प्रतिशत बासिन्दाले आफ्नो स्थानीय वायुको गुणस्तरलाई खराबदेखि अति खराबसम्म रहेको बताएका छन्। ताजा इनिसिएटिभ नेपालले उपत्यकाका १,२०० बासिन्दामाझ गरेको सर्वेक्षणले यस्तो देखाएको हो।

सर्वेक्षणअनुसार वायुको गुणस्तरलाई नकारात्मक रूपमा मूल्यांकन गर्नेको संख्या ललितपुरमा सबैभन्दा बढी ६०.९ प्रतिशत छ। त्यस्तै काठमाडौंमा ५९.२ प्रतिशत र भक्तपुरमा ५६.० प्रतिशतले स्थानीय वायुको गुणस्तर खराब रहेको बताएका छन्।

सर्वेक्षणमा सहभागीमध्ये ९८.६ प्रतिशतले सवारीसाधन तथा यातायातबाट निस्कने धुवाँलाई वायु प्रदूषणको प्रमुख स्रोतका रूपमा पहिचान गरेका छन्। त्यस्तै, ९४.८ प्रतिशतले सडक निर्माणका क्रममा उड्ने धुलोलाई वायु प्रदूषणको प्रमुख कारक मानेका छन्।

वायु प्रदूषणबाट बच्न ८२.० प्रतिशत उत्तरदाताले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने गरेको बताएका छन्। तर, ४३.४ प्रतिशतले प्रदूषणबाट जोगिन आफूले कुनै व्यक्तिगत कदम नचालेको बताएका छन्।

वायु प्रदूषणकै कारण काठमाडौं उपत्यका छाड्ने सोच बनाउनेको संख्या पनि देखिएको छ। सर्वेक्षणमा उपत्यका छाड्ने विचार गरिरहेका ७.२ प्रतिशत उत्तरदातामध्ये ३९.१ प्रतिशतले वायुको गुणस्तरलाई त्यसको एउटा कारणका रूपमा औँल्याएका छन्। उपत्यका छाड्ने निर्णयका कारणमध्ये वायु गुणस्तर आर्थिक दबाब तथा महँगीपछि दोस्रो स्थानमा रहेको सर्वेक्षणले देखाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*