विद्युतीय गाडीको समायोजित भाडादर सार्वजनिक, कहाँ जान कति?

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटमा सञ्चालन हुने विद्युतीय गाडीको समायोजित भाडादर सार्वजनिक गरेको छ। समायोजित मूल्यअनुसार साधारण, डिलक्स र सुपर डिलक्स बसको भाडा फरक–फरक तोकिएको छ।
विभागका अनुसार काठमाडौं–पोखरा रुटमा साधारण बसको भाडा ६५२ रुपैयाँ, डिलक्सको ७८३ रुपैयाँ र सुपर डिलक्सको ९३९ रुपैयाँ कायम गरिएको छ। त्यस्तै काठमाडौं–बुटवल रुटमा साधारण बसको ७९० रुपैयाँ, डिलक्सको ९४७ रुपैयाँ र सुपर डिलक्सको १ हजार १३७ रुपैयाँ भाडा तोकिएको छ।
यसैगरी काठमाडौं–धरान रुटमा साधारण बसको भाडा १ हजार ५८३ रुपैयाँ, डिलक्सको १ हजार ९०० रुपैयाँ र सुपर डिलक्सको २ हजार २८० रुपैयाँ कायम गरिएको छ। काठमाडौं–नेपालगञ्ज रुटमा साधारण बसको १ हजार ५६० रुपैयाँ, डिलक्सको १ हजार ८७२ रुपैयाँ र सुपर डिलक्सको २ हजार २४६ रुपैयाँ भाडा निर्धारण गरिएको छ।
काठमाडौं–धनगढी रुटमा भने साधारण बसको भाडा २ हजार ११ रुपैयाँ, डिलक्सको २ हजार ४१३ रुपैयाँ र सुपर डिलक्सको २ हजार ८९५ रुपैयाँ तोकिएको छ। विभागका अनुसार ब्लुबुकमा डिलक्स सेवा प्रमाणित भएका बसले साधारण भाडादरभन्दा २० प्रतिशत बढी लिन पाउनेछन्। सुपर डिलक्स बसले डिलक्सको भाडादरमा थप २० प्रतिशत रकम लिन सक्नेछन्।
नयाँ व्यवस्थाअनुसार यात्रुलाई गन्तव्य र भाडा उल्लेख भएको टिकट अनिवार्य दिनुपर्नेछ। साथै बस र टिकट काउन्टरमा भाडादर स्पष्ट देखिने गरी राख्नुपर्ने, लामो दूरीका रात्रिकालीन बसमा कम्तीमा दुई जना चालक राख्नुपर्ने तथा विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई तोकिएको छुट दिनुपर्ने व्यवस्था गरिएको छ।
तोकिएभन्दा बढी भाडा लिएमा वा नियम उल्लङ्घन गरेमा कारबाही हुने विभागले जनाएको छ। यात्रुले बढी भाडा लिएको वा अन्य समस्या भएको अवस्थामा हेलो सरकार, प्रहरी तथा यातायात व्यवस्था विभागमा उजुरी दिन सक्नेछन्।











