आज पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

२५ आश्विन २०८३, आईतवार ०८:१८

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज आइतबार कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा वर्षा हुन सक्छ। त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ। हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने भए पनि तराईमा मौसम मुख्यतया सफा रहनेछ।

सोमबार पनि हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा तुलनात्मक रूपमा बढी स्थानमा वर्षा हुन सक्ने देखिएको छ। सोमबार राति तराईका थोरै स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ। मंगलबार पनि हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*