बुढीगण्डकीमा बाढीको वितण्डा: चार जलविद्युत् आयोजनामा क्षति, कुनमा के भयो ?

२५ आश्विन २०८३, आईतवार ११:२३

काठमाडौँ ।  बुढीगण्डकी नदीमा आएको बाढीले जलविद्युत् आयोजनाहरूमा क्षति पुर्‍याएको छ। बाढीका कारण बुढीगण्डकी, दोभान खोला, यारु खोला र माछा खोलामा निर्माणाधीन तथा सञ्चालनसम्बन्धी गतिविधिमा असर परेको छ। प्रारम्भिक विवरणअनुसार बाढीले आयोजनाका क्याम्प, निर्माण सामग्री, उपकरण, बेलिब्रिज तथा पहुँच सडकमा क्षति पुर्‍याएको छ।

बुढीगण्डकी जलविद्युत् आयोजनामा बाढीले मुख्य क्याम्प क्षेत्रलाई प्रभावित बनाएको छ भने केही निर्माण उपकरणसमेत बगाएको छ। ३४९ मेगावाट जडित क्षमता रहेको यस आयोजनाको प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी प्रालि हो। बाढीले आयोजनाको निर्माण कार्यसँग सम्बन्धित संरचना तथा उपकरणमा क्षति पुर्‍याएपछि आयोजनाको भौतिक प्रगतिमा असर पर्ने देखिएको छ।

त्यस्तै, २४.५ मेगावाट जडित क्षमता रहेको दोभान खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ। दोभान खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित उक्त आयोजनाको क्याम्प क्षेत्रका केही घरहरूमा क्षति पुगेको छ भने बेलिब्रिजसमेत बगाएको छ।

यारु खोला जलविद्युत् आयोजनामा पनि बाढीको प्रभाव परेको छ। ३०.५९ मेगावाट जडित क्षमता रहेको उक्त आयोजनाको प्रवर्द्धक कम्पनी यारु हाइड्रो पावर प्रालि हो। बाढीले आयोजनाको बेलिब्रिज बगाउनुका साथै निर्माण सामग्री तथा उपकरणसमेत बगाएको प्रारम्भिक विवरणमा उल्लेख छ। पुल, निर्माण सामग्री र उपकरणमा भएको क्षतिले आयोजनाको निर्माण कार्यमा थप चुनौती सिर्जना गरेको छ।

यसैगरी, १६ मेगावाट जडित क्षमता रहेको माछा खोला जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्‍याएको छ। वाटर इनर्जी डेभलपमेन्ट प्रा.लि.द्वारा प्रवर्द्धित उक्त आयोजनाको पहुँच सडक र आयोजना स्थल पुग्ने पुलमा क्षति पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*